जीवनी(GP_K)

महापुरुष गिरिजाप्रसाद कोइरालाको जीवनी
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर योद्धा, पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको खबरले नेपाली जनता अत्यन्त मर्माहत भएका छन् । 

 नेता कोइरालाको ८७ वर्षको उमेरमा २०६६, चैत ७ गते शनिबार मध्याहृन १२ बजेर १० मिनेटमा उहाँकी सुपुत्री सुजाता कोइरालाको निवास, मण्डीखाटारमा निधन भएको हो । विगत नौ घन्टादेखि अचेत अवस्थामा रहनुभएका कोइरालाको मध्याहृन निधन भएको नेपाली काङ्ग्रेसको सोही निवासमा बसेको आपतकालीन बैठकले अपराहृन १:४५ बजे औपचारिक घोषणा गरेको हो । 

लामोसमयदेखि स्वासप्रश्वासको रोगबाट पीडित सभापति कोइरालाको शनिबारै अचेत अवस्थामै निधन भएको जानकारी गराइएको हो । मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछि गत वैशाख १४ गते छैटौँपटक प्रधानमन्त्री बन्नुभएका कोइराला वि.सं.२०४८ जेठदेखि वि.सं.२०५१ मङ्सिरसम्म प्रथम निर्वाचित प्रधानमन्त्री हुनुभएको थियो । उहाँ त्यसपछि २०५४ साल चैत ३० गते, २०५५ पुस १० गते र २०५७ चैत ७ गते प्रधानमन्त्री हुनुभएको थियो ।

सात राजनीतिक दलको सर्वसम्मत निर्णयका आधारमा तत्कालीन राजा ज्ञानेन्द्रबाट नेपाली काङ्ग्रेसका सभापति तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कोइरालालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो ।

नेपालका प्रख्यात गान्धीवादी नेता एवम् समाजसेवी कृष्णप्रसाद कोइरालाका पाँच सुपुत्रमध्येका कान्छा छोरा पूर्वप्रधानमन्त्री कोइरालाका दुई दाजु मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसादं कोइराला नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।

पूर्वप्रधानमन्त्री कोइराला पारिवारिक राजनीतिक वातावरणका कारण सानै उमेरमा राजनीतितर्फ आकषिर्त हुनुभएको थियो । उहाँको राजनीतिक जीवनको सुरुवात विराटनगर जुटमिलमा मजदुर नेताका रुपबाट सुरु भएको हो ।

वि.सं. १९८६ मा पिता कृष्णप्रसाद कोइराला आफ्नो निर्वासनबाट स्वदेश फर्केपछि पूर्वप्रधानमन्त्री कोइरालाले आदर्श हाइस्कुल विराटनगरमा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । त्यसपछि उहाँले त्रिचन्द्र क्याम्पस र पछि बनारस हिन्दु विश्वविद्यालयमा उच्चशिक्षा हासिल गर्नुभएको थियो ।

विराटनगरमा वि.सं. २००३ फागुन २० गते सुरु भएको ऐतिहासिक जुटमिल हडतालको नेतृत्व गर्ने मजदुरनेता कोइराला विराटनगर मजदुर युनियनका सर्वसम्मत अध्यक्ष चुनिनुभयो । उहाँले नेपाल ट्रेड युनियन काङ्ग्रेसका संस्थापक सदस्य र सभापति भई काम गर्नुभएको थियो ।

सात सालको जनक्रान्ति सफल भएपछि उहाँ सङ्गठन कार्यमा लाग्नुभयो र सोही वर्ष नेपाली काङ्गे्रस मोरङ जिल्ला समितिको सभापति पनि हुनुभएको थियो । वि.सं. २०१७ मा प्रजातन्त्र अपहरण गरिएपछि तत्कालीन प्रधानमन्त्री बीपी कोइराला, नेकांका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा थुप्रै काङ्ग्रेसी कार्यकर्ताका साथ श्री कोइराला पनि जेल पर्नुभयो ।

एक्काईस दिनको अनशनपछि वि.सं. २०२४ मा कारागारबाट मुक्त गरिँदा उहाँले सात वर्षको बन्दी जीवन बिताइसक्नुभएको थियो । कारागारबाट रिहा हुनेबित्तिकै सन् १९७१ मा आमनिर्वासनमा उहाँ भारततर्फ प्रस्थान गर्नुभयो ।

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको लामो सङ्घर्षमा होमिने हजारौँ काङ्ग्रेसी योद्धाका लागि ‘गिरिजा दाजु’ प्रेरणास्रोत हुनुभयो । ‘सानुबुबा’ का नामबाट कोइराला परिवारमा उहाँ सुपरिचित हुनुहुन्थ्यो ।

जननायक बीपी कोइरालाले वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएपछि ऐतिहासिक जनमतसङ्ग्रहको केही साताअघि आममाफी पाएर उहाँ स्वदेश र्फकनुभयो ।
पार्टीका कुशल सङ्गठनकर्ता श्री कोइराला नेपालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि अरू काङ्ग्रेसी नेताहरूसँग काम गर्दै आउने क्रममा अनेकौँँ पटक कारावास र नजरबन्दमा पर्नुभएको थियो ।  सन् १९८५ को सत्याग्रह तथा ऐतिहासिक जनआन्दोलन २०४६ मा श्री कोइरालाको निणर्ायक भूमिका रहृयो ।

वि.सं. २०४८ मा सम्पन्न आमनिर्वाचन, वि.सं. २०५१ मा सम्पन्न मध्यावधि निर्वाचन र वि.सं. २०५६ मा सम्पन्न आमनिर्वाचनमा उहाँ मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । भूतपूर्वप्रधानमन्त्री कोइरालाको जन्म सन् १९२५ मा भारत सहर्सा जिल्लाको टेडियामा उहाँका पिता कृष्णप्रसाद कोइराला राजनीतिक निर्वासनमा रहनुहुँदा भएको थियो ।

विंस. २०५९ असोज १८ गते तत्कालीन प्रतिनिधिसभाको विघटन गरी राजा ज्ञानेन्द्रको सक्रियतामा संसद बाहिरका व्यक्तिको अगुवाइमा सरकार गठन गरेपछि र वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रद्वारा नै सरकारको अध्यक्षता गरी निरङ्कुश शासनको सुरुआत गरेपछि नेता कोइरालाले २०५६ सालको निर्वाचित संसद पुनःस्थापना गर्ने एकमात्र माग राखी शाही शासनका विरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो ।
तत्कालीन सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको नेकपा -माओवादी)लाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याउने वचनबद्धताका साथ आठ राजनीतिक दलको अभिभावकका हैसियतले २०६२ मङ्सिर ७ गते १२ बुँदे सम्झौता गराई राजतन्त्रविरुद्धको लोकतान्त्रिक आन्दोलनमा होमिने र त्यसको नेतृत्व लिने जस पनि नेपालको राजनीतिक इतिहासले नेता कोइरालालाई नै दिएको छ ।

वि.सं. २०६२ चैत २४ देखि निरङ्कुश राजतन्त्रका विरुद्ध १९ दिने आन्दोलनपश्चात् २०६३ साल वैशाख ११ गते अन्ततः राजा ज्ञानेन्द्रको शाही शासन अन्त्य गराई संसदको पुनःस्थापनामार्फत नेपाली लोकतान्त्रिक प्रणालीको थालनी उहाँकै प्रधानमन्त्रीत्वबाट सुरु भएको थियो ।

सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा ल्याउने र पुनःस्थापित संसदमार्फत राजशाहीको अन्त्य गर्ने एकमात्र मिलनविन्दुका रूपमा अघि सारिएको संविधानसभाको निर्वाचनको अभियान पनि उहाँको नेतृत्वबाट सुरु भयो र अन्ततः नेपाली इतिहासमा विगत छ दशकदेखि थाँती रहेको संविधानसभाको निर्वाचन २०६४ चैत २८ गते सम्पन्न भयो ।

यसअघि विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर गरी तत्कालीन सरकार प्रमुखका तर्फबाट आफूले र विद्रोहीका तर्फबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जारी दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्य भएको घोषणा गर्नुभएको हो । शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउन उहाँको विशेष योगदान रहेको थियो ।

संविधानसभाको पहिलो बैठकमार्फत २०६५ जेठ १५ गते २४० वर्षको राजतन्त्रात्मक शासन प्रणालीबाट मुलुक पहिलोपटक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गर्‍यो । त्यसपछि मुलुकमा राष्ट्रपतिको निर्वाचन भई २०६५ साउन ८ गते पहिलो राष्ट्रपति डा.रामवरण यादवको घोषणा हुनुअगाडिसम्म उहाँले मुलुकको कार्यवाहक राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

संविधानसभाको निर्वाचनमा आफ्नो दल नेपाली काङ्ग्रेसले दोस्रो ठूलो राजनीतिक दलको हैसियत प्राप्त गरेपछि निर्वाचनामार्फत सबैभन्दा ठूलो दलका रूपमा स्थापित तत्कालीन नेकपा -माओवादी) लाई त्यसै सालको भदौमा सत्ता सुम्पी उहाँले राजनीतिक अभिभावकको भूमिका निर्वाह गर्नुभएको थियो ।

वि.सं. २०६७ जेठ १४ गतेसम्ममा संविधानसभा एवम् नेपालको अन्तरिम संविधान, २०६३ अनुरूप नयाँ संविधानको निर्माण र माओवादी लडाकू एवम् हतियारको समायोजन हुन नसक्ने गुनासो व्यापकरूपमा उठेपछि पहिलो ठूलो दल एकीकृत नेकपा -माओवादी) र तेस्रो ठूलो राजनीतिक दल नेकपा -एमाले) का शीर्षनेताको सहभागितामा उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन गरी त्यसको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो ।

‘म गर्भमा हुँदा पिताजी र आमाबीच विवाद भइरहन्थ्यो । पिताजी छोरा होस् भन्ने आमा छोरी । अन्तमा एकदिन उहाँहरू दुवैजना बैलगाडा चढेर जनकपुरदेखि २०-३० किलोमिटर टाढा -विहार, भारतमा पर्ने) गिरिजा मन्दिर जानुभयो । अन्तमा पिताजीले भन्नुभएछ, \’छोरा जन्मियो भने गिरिजाप्रसाद, छोरी जन्मियो भने गिरिजादेवी नाम राख्ने ।\’ छोराका रूपमा जन्मिएर मैले आमालाई निराश तुल्याएँ । आमाले नै मलाई यो कुरा सुनाउनुभएको हो । आमाले भन्नुभएको कुरा मलाई अहिले पनि याद आउँछ, \’महिला र पुरुष बग्गीका दुई चक्का हुन् । दुवैलाई सँगसँगै लिएर जानुपर्छ ।\’ आमाको त्यही वचनका कारण जीवनभर मैले महिलाको सम्मान गर्नुपर्छ भन्ने मान्यता छोडिनँ । प्रारम्भमा मैले विराटनगरमा पढेको हुँ । त्यसबेला एसएलसी थिएन । म्याटि्रकुलयनको परीक्षा बनारसबाट दिएँ । प्राइभेट जाँच दिनुपथ्र्याे, मैले पनि त्यही गरेँ । त्यसपछि बेसेन्ट कलेजमा गएँ । अनि बीएचयू -बनारस हिन्दु विश्वविद्यालय) मा पढ्न थालेँ । पिताजी -कृष्णप्रसाद कोइराला) लाई राणा सरकारले काठमाडौं जेलमा राखेको थियो । यस घटनाले समेत मेरो पढाइमा असर गरिरहेको थियो । एकदिन विश्वविद्यालय जाने क्रममा \’नेपालमा पिताजीको मृत्यु भयो, तिमी पटना जाऊ\’ भन्ने टेलिग्राम पाएँ । बीपी पनि भर्खरै हजारीबाग -भारत) जेलबाट छुटेर त्यहाँ पुग्नुभएको थियो । पटनामा सान्दाजु -बीपी) बसेको कोठामा दुइटा खाट थिए । एउटा उहाँका लागि र अर्काे मेरा लागि । राती कुरा गर्दै जाँदा मैले कम्युनिस्टले प्रयोग गर्ने भाषा प्रयोग गरेछु क्यारे । उहाँले थाहा पाइहाल्नुभयो । वास्तवमा बनारसमा पढ्दा मनमोहन अधिकारीहरूको संगतले म -विद्यार्थी) फेडरेसनतिर आकषिर्त भएको थिएँ । सान्दाजुले सोध्नुभयो, \’-महात्मा) गान्धीजी कहाँ छन् ?\’ मैले भनेँ, \’जेलमा, अरू कहाँ ?\’ उहाँले एक पछि अर्को गर्दै सोध्नुभयो, \’-जवाहरलाल) नेहरू, जयप्रकाशनारायण नि ?\’ मैले भनेँ, \’जेलमा ।\’ सान्दाजुले फेरि भन्नुभयो, \’गान्धी, नेहरू जेलमा छन्, तर तेरा नेताहरू को हुन् र कहाँ छन् ?\’ मैले भनेँ, \’मेरा नेता श्रीपद, अमृतपद, डाँगे -भारतीय कम्युनिस्ट पार्टीका नेता) हुन् । उनी बम्बैमा छन् ।\’ सान्दाजुले भननुभयो, \’गान्धी, नेहरू, जयप्रकाश जेलमा, किन बाहिर ?\’ यति भनेपछि उहाँले भन्नुभयो, \’ल अब सुत ।\’ बस् म त रातभरि सुत्न सकिनँ । रातभर सान्दाजुले भनेको कुरा दिमागमा घुमिरह्यो । त्यसपछि म पुनः बनारस गएँ । सुरुमा त्यहाँ किसुनजीसँग भेट भयो । गल्लीमा बस्नुहुन्थ्यो उहाँ । हाम्रो कुरा उहाँका दाजु गोपालजीले सुनिरहनुभएको रहेछ । उहाँ कांग्रेसमा हुनुहुन्थ्यो । उहाँले नै भन्नुभयो, \’तिमीहरू दुवैलाई एउटा नेताकहाँ लग्नुपर्‍यो ।\’ एकजना नेता भर्खरै जेलबाट छुटेका थिए, उनले नै हामीलाई कम्युनिज्म र कम्युनिस्टहरूको बानी-व्यहोराबारे बताए । अनि किसुनजी र म फेडरेसनबाट अलग भयौं । म कांग्रेसको सक्रिय राजनीतिमा लागेँ । —————— बन्दुक/क्यामरा चलाएँ २००७ सालको क्रान्तिमा म \’पोलिटिकल अफिसर\’ -कमिसार) थिएँ । आर्मीले केही बदमासी गर्छन् कि भनेर उनीहरूसँगै जाने जिम्मेवारी मलाई दिइएको थियो । हाम्रो टोली इनरुवामा बसेको थियो । कोसी किनारामा गाई चराउने मानिसहरूले खबर गरे, \’राणाको सेना कोसी पार गर्न खोज्दै छ ।\’ चिसोको याम थियो, हाम्रा सिपाहीहरू गाउँमा आगो तापेर बसेका थिए । मैले हाम्रा कमान्डर जीबी याकथुम्बालाई भनेँ, \’उनीहरू आए भने त रोक्नुपर्‍यो नि ।\’ उनले भरुवा बन्दुक दिएर पठाएछन् । मैले भनेँ, \’ए यस्तो बन्दुकले कसरी लड्न सक्छन्, उनीहरू ।\’ उसले भन्यो, \’यिनीहरू अनुभवी छन्, सक्छन् ।\’ हाम्रा १५-२० जना सिपाही त्यता गए । हाम्राे फौज -त्यहाँ गएर) आगो तापेर बसेछन् । आगो बलेको देखेर उनीहरू -राणाका सैनिक) आए । उनीहरूले त्यहाँ पुगेर फायर खोलिहाले । कसैको तिघ्रामा लाग्यो, कसैलाई कता लाग्यो । कोही भागे, कोही रगतले लतपत भएर आए । यस्तै त रहेछ भनेर राणाको फौज ढुक्क भए । मैले के गर्ने भनेर याकथुम्बालाई सोधेँ । अनि, हामीले सल्लाह गर्‍यौं गहिरो ठाउँ खोजेर एकातिर म र अर्कातिर उनी बस्ने अनि बीचमा हाम्रा फौज राख्ने योजना बनायौं । हामीले सैनिकहरूलाई निर्देशन दियौँ, \’हामीले फायर नभनेसम्म कसैले फायर नखोल्नू ।\’ चन्द्राकारमा मिलाएर एकातिर म र अर्कातिर याकथुम्बा अनि बीचमा हाम्रा सेना बस्ने प्रबन्ध मिलाइयो । राणाको सेना आएपछि अत्तालिएर हाम्रा एक जनाले ड्याम्म फायर गरिदिइहालेछन् । अनि, हामीले फायर गर्नुपरिहाल्यो । उनीहरू भागे, छरिए । कति भारत गए । कतिलाई भारतीयले समाएर हामीलाई बुझाए । कति मरे । अनि, उनीहरू कोसीतिरै फर्किए । उनीहरूबाट हामीले थुप्रै हतियार संकलन गर्‍यौं । मैले आफैं फायर गरेको यो एउटा घटना हो र अर्का विराटनगरमा । भिडन्त भइरहँदा विराटनगरमा बडाहाकिमले सेतो झन्डा देखाए । त्यसको मतलब थियो- आत्मसमर्पण । बडाहाकिमले आत्मसमर्पण गर्‍यो भनेर जाँदा म पनि गइरहेको थिएँ । उताबाट गोली आयो र त्यसैले म हुत्तिएर धकेलिएँ । त्यसको केही समयपछि मुलुकमा राणाशासनको अन्त्य भई प्रजातन्त्र बहाली भयो । प्रजातन्त्र आएपछि मलाई पार्टी राजनीतिमा खासै रुचि थिएन । प्रजातन्त्र आउनुपर्छ, जनताले अधिकार पाउनुपर्छ भन्ने मात्र थियो । बीपी नेता हुनुहुन्थ्यो । आफ्नै दाजु भएकाले मलाई कुनै आकांक्षा थिएन । उहाँकै उन्नतिका लागि काम गरिरहेको थिएँ । त्यतिबेला बेलायती पत्रकारहरू काठमाडौं आएका थिए । बीपीले मलाई बोलाएर भन्नुभयो, \’यिनीहरूलाई सुरक्षा दिन सकिन्न । त्यहाँ लगेर सुरक्षा दिन सकिएन, केही भइदियो भने नराम्रो हुन्छ ।\’ सान्दाजुले भन्नुभयो, \’होइन, होइन, सुरक्षाको चिन्ता नगर । लिएर जाऊ ।\’ केही सैनिकहरूका साथ म उनीहरूलाई लिएर युद्धस्थल पुगेँ । घटनास्थलमा गएर हेरेपछि उनीहरू फर्किन लागे । सबैसँग क्यामरा थियो । उनीहरूले सोधे, \’तिमीसँग क्यामरा छैन ? मैले भनेँ, \’छैन ।\’ उनीहरूले अचम्म माने, \’लौ यत्रो काम गरेका छौ, एउटा क्यामरा पनि छैन ?\’ तिनैमध्येका एकले मलाई लाइका क्यामरा दिए । त्यो त्यतिबेलाको निकै राम्रो क्यामरा थियो । अर्काले साइन क्यामरा दिए । त्यो त्यतिबेलाको निकै राम्रा क्यामरा थियो । अर्काले साइन क्यामरा दिए । आजको जस्तो डिजिटल प्रविधि त थिएन । फोटो खिच्नका लागि रिल हाल्नुपर्थ्यो र दम दिएर क्लिकक्लिक गर्नुपर्थ्यो । त्यसपछि मैले फोटो खिच्न सुरु गरेँ । चार-पाँच वर्षसम्म निरन्तर फोटो खिचेँ । बुइगलको सानो कोठालाई बारेर \’डार्क रुम\’ बनाएको थिएँ । फोटो धुनको लागि पानीमा मसला राखेर ठीकठीक मात्रामा मिलाउनुपर्थ्यो । एक-एक गरेर फोटो धुनुपर्थ्यो । मैले विराटनगरकै स्थानीय फोटोग्राफरबाट यो काम सिकेको हुँ । मैले खिचेका तस्बिरहरू अहिले पनि बिराटनगरमा होलान् । धेरै नै खिचेको थिएँ । ०१७ सालमा राजाले राजनीतिक \’कू\’ गर्नुभन्दा अघि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू काठमाडौं आएका थिए । शीतलनिवासमा उनको सम्मानमा त्यसबेलाका प्रधानमन्त्री बीपी कोइरालाले पार्टीको आयोजना गर्नुभएको थियो । म पनि त्यो समारोहमा पुगेको थिएँ । मलाई देखेर नेहरूले बीपीसँग भने, \’ये कैसा फोटोग्राफर है, जहाँ भी पहुँच जाता है ।\’ बीपीले भन्नुभयो, \’नहीँ, नहीँ हमारा भाइ है ।\’ त्यसपछि नेहरूले \’ल-ल राम्ररी खिच\’ भनेका थिए । \’कू’ पछि २०१७ पुस १ गते राजाले प्रजातन्त्रमाथि \’कु\’ गरेको भोलिपल्ट म पक्राउ परेको थिएँ । त्यसको एक वा दुई दिनपछि राजाले रेडियो नेपालमार्फत एउटा घोषणा गरे- अबको पाँच-सात वर्षभित्र राजनीतिक दलका झन्डा देखिनेछन् । त्यही दिन मैले सोचें- अब म सात वर्षसम्म चुपचाप बिनाएक्सन जेलमा बस्नेछु, त्यसपछि जे एक्सन गर्नुपर्छ गर्छु । त्यही कारण म कसैलाई केही नभनेर चुपचाप बसेको थिएँ । जेल परेको छ वर्ष भएको थियो । एकदिन तारिणी दाइले भन्नुभयो, \’ए गिरिजा, म त अस्पताल जान्छु ।\’ मैले भनें, \’हत्तेरिका केही भएको छैन, किन जानुहुन्छ अस्पताल ?\’ उहाँले भन्नुभयो, \’म तिमीलाई एउटा कुरा बताऊँ ? ल भन त, म साहित्यकार हो कि होइन ?\’ मैले भनें, \’हो तारिणी दाइ, तपाई कवि पनि हो ।\’ \’हैन, त्यसो भए दाजुको निम्ति छ वर्ष जेल बसिसकें । अब के भन्छौ तिमी, भन त ?\’ उहाँले यसो भनेपछि मैले भनें, \’तपाईंले भन्दैमा छोड्छ तारिणी दाइ ? त्यो हुँदैन ।\’ हैन, हैन म अस्पताल जान्छु\’ भन्नुभयो उहाँले । अस्पतालमा के भयो थाहा छैन । फर्केर भन्नुभयो, \’हेर दाजुका लागि यति बसें, अब कति बसौं ?\’ मैले भनें, \’तारिणी दाइ अरू पनि त बसेका छन् नि, तपाईं मात्र हो र ?\’ उहाँले भन्नुभयो, \’ए बाबा, म त साहित्यकार पनि हो नि । साहित्यिक क्षेत्रबाट पनि त सान्दाइलाई सघाउनु पर्दैन ?\’ मसँग पो बहस गर्न लाग्नुभयो उहाँ त । मैले भनें, \’जे गर्नु छ, तपाईं गर्नुस् तारिणी दाइ ।\’ थुनामा परेको छ वर्ष पुगेको दिन राति ११ बजे तारिणीप्रसाद कोइराला भनेर बोलाएको आवाज आयो । तारिणी दाइले मलाई उठाएर भन्नुभयो, \’हेर मलाई त बोलायो ।\’ मध्यरातको बेला छ, उहाँ त टाई-सुट लगाउन थाल्नुभयो । \’के भयो तारिणी दाइ ?\’ मैले सोधें । \’म कुरा गर्दिनँ तिमीसँग, आउने मन भए आऊ, नत्र म हिँडें गिरिजा,\’ कपडा लगाएर मसँग केरै नगरी फटाफट हिँडिहाल्नुभयो उहाँ । एकैछिनपछि त फलाना-फलाना भनेर सबैलाई बोलाए । सबै गुन्टा बाँध्न थाले । के भयो भनेर सोधें, सबैले \’हामी छुट्यौं\’ भन्न थाले । अन्तिममा गिरिजाप्रसाद कोइराला भनेर बोलाए । गएँ । अञ्चलाधीश र सीडीओ रहेछन् । एउटा कागज दिए । अनि भने, \’गिरिजाबाबु यसमा हस्ताक्षर गरिदिनुहोस् न ।\’ तारिणी दाइले गरिसक्नुभएको थियो । कांग्रेस महामन्त्री श्रीभद्र शर्माले भने । कागजमा के लेखेको रहेछ भनेर हेरेको त \’शान्तिपूर्ण किसिमबाट बस्नेछु\’ भन्ने मात्र लेखिएको थियो । एकजना प्रसाईं थरका सीडीओ थिए । तिनलाई पहिला मैले नै पार्टीको सदस्यता दिएको थिएँ । उनलाई भनें, \’के अशान्ति गरेर ल्याएको हो त हामीलाई ? आखिर जेल भनेको केका निम्ति ? अशान्ति गरेपछि न जेल ल्याउने हो । त्यो किन लेखाउनुपर्‍यो । आखिर कानुनले नै सरकारलाई अशान्ति गर्नेलाई थुन्न अधिकार दिएको छ । यदि मलाई हस्ताक्षर गराउने हो भने तपाई त झन् सरकारी अधिकारी, तपाईलाई किन हस्ताक्षर नगराउने ?\’ सीडीओ प्रसाईले भने, \’जाने मन भएकाहरूको पनि बन्द गरिदिनुहुन्छ भनेरै मैले तपाईको नाम अन्तिममा बोलाएको हुँ । मलाई थाहा भयो, तपाई मान्नुहुन्न भनेर ।\’ तपाई बस्नुस् भने उनले । म भित्र पसें । बाहिर मोटर हिँड्यो । सबै छुटेर गए, म गइनँ । कतै गल्ती त गरिएन भन्ने लागिरह्यो, छटपटाहट भइरह्यो । त्यो रात सुत्न सकिनँ । ————– २०४२ को बमकाण्ड कांग्रेसले सुरु गरेको सत्याग्रह जारी नै रहेका बेला राष्ट्रिय पञ्चायत र राजदरबार परिसरमा समेत बम विस्फोट भयो । घटनामा एकजना राष्ट्रिय पञ्चायतका सदस्य मारिए । त्यो बेला गणेशमानजी, किसुनजी, म र नोना भाउजू थुनामा थियौं । हामीलाई बन्दी बनाइएको घरको तल्लो तलामा किसुनजी, बीचमा म र माथि गणेशमानजी हुनुहुन्थ्यो । बमकाण्डले नराम्रो रूप लिएपछि हामीबीच सूत्रमार्फत कुरा भयो । प्रत्यक्ष भेट्न दिइएको थिएन । हामी तीनैजनालाई लाग्यो सत्याग्रहलाई बदनाम बनाउने काम हुँदै छ । त्यसैले यसबाट हामी जोगिनुपर्छ । कांग्रेसलाई बदनाम बनाउन हिंसात्मक कदम चालिएको निष्कर्षमा पुगेपछि हामीले आन्दोलन स्थगित गर्‍यौं । ——————– २०४६ को आन्दोलन गणेशमानजीको घर चाक्सीबारीमा भएको कांग्रेसको सम्मेलनले फागुन ७ गतेबाट जनआन्दोलन सुरु गर्ने निर्णय भयो । वामपन्थीहरूलाई साथमा लिएर जाने सहमति भयो र उनीहरू पनि आन्दोलनमा सहभागी भए । आन्दोलन सुरु भएपछि गणेशमानजी, किसुनजी र मलाई घरमै नजरवन्द गरियो । आन्दोलन चर्किंदै जाँदा बीचमा गणेशमानजी बिरामी भएकाले उहाँलाई वीर अस्पतालमा राखिएको थियो । आन्दोलन चर्किंदै गयो । यही बीचमा सेनाका मानिस आएर मसँग भने- होइन गिरिजाबाबु यसरी त भएन सहमतिमा जानुपर्‍यो । राजासँग कुरा गर्नुपर्‍यो, हिँड्नुस् । मैले भनें- अहँ, गणेशमानजी र किसुनजीसँग कुरा नगरेर त म केही गर्दिनँ । त्यो बेला मार्सल ल जारी भएको थियो र सेनाको सक्रियता बढाइएको थियो । उनीहरूले भने, त्यसो भए अस्पताल गए हुँदैन । उता कुपण्डोलबाट हामी किसुनजीलाई पनि त्यहीँ ल्याउँछौं । अनि सल्लाह गरेर गए हुँदैन । मैले हुन्छ भनें । यताबाट मलाई गणेशमानजीलाई राखेको वीर अस्पतालको कोठामा लगियो र त्यहीँ किसुनजीलाई पनि ल्याइयो । अनि वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीलाई ल्याइयो । त्यहीँ सल्लाह गरेर हामी सीधै राजदरबार पुग्यौं । गणेशमानजीले अस्वस्थ भएका कारण दरबार नजाने भन्नुभयो । नारायणहिटी राजदरबार पुगेपछि एक छेउमा हामी आन्दोलनकारी र अर्को साइडमा राजाका मन्त्रीहरू बसे । राजा बीचमा बसेका थिए । किसुनजी, सहानाजी, राधाकृष्णजी र म एक साइडमा क्रमशः बसेका थियौं । कुराकानीको सुरुवात गर्दै राजाले भने- अब तपाईहरू -आन्दोलनकारी र राजाका मन्त्री) कुरा गरेर एउटा टुङ्गोमा पुग्नुस्, के गर्ने बाटो पहिल्याउनुस् । किसुनजीले राजाको भनाइमा सहमति जनाउनुभयो । सहाना र राधाकृष्णले पनि ठीकै छ भन्नुभयो । म अन्तिममा थिएँ- मैले भने मलाई यो कुरा मान्य छैन । जब हामीले पञ्चायती संविधानलाई नै मान्यता दिएका छैनौं भने मन्त्रीहरूलाई कसरी मान्यता दिने ? किसुनजीले सम्झाउनुभयो । हैन गिरिजाबाबु यसरी हुँदैन सहमतिमा जाउ भनेर । मैले भनें- मेरो चित्त त बुझेको छैन । तर तपाईंहरूले भनेपछि ठीक छ । अनि सरकारका तर्फवाट प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायत र हाम्रो तर्फबाट योगप्रसाद उपाध्यायलगायत रहेको वार्ता टोली बन्यो । तर दरबारबाट फर्किएपछि मन खिन्न थियो । बाहिर आएपछि किसुनजीले बोल्नुभयो । तर मलाई यो कुरा मन परेको थिएन । हामीले मन्त्रीहरूसँग कुरा गरेर केही पनि हुँदैन सीधै राजासँग कुरा गरेर निष्कर्ष निकाल्नुपर्छ । नत्र हामीलाई फेरि धोका हुनेछ । यसरी जाँदा हामी फस्छौं । त्यसैले तिमीहरू तयार भएर बस र रातभरि सकेसम्म बढी साथीहरूलाई बोलाएर पार्टी अफिस आउ । अनि के गर्ने म बताउँछु भने । अनि हाम्रो वार्ता टोलीका संयोजक योगप्रसादजीलाई पनि फोन गरेर पार्टी कार्यालय आएर मात्र वार्ता स्थल -प्रज्ञाप्रतिष्ठान) जानुहोला भनें । पार्टी कार्यालयमा म तपाईको बिदाइका लागि आउँछु । म महामन्त्री थिए र उहाँ सहमहामन्त्री । सहमहामन्त्रीलाई महामन्त्रीले बिदा गर्ने भनेपछि उहाँ पनि दंग परेर आइहाल्नुभयो । विहान उहाँ आउँदा मैले विद्यार्थीहरूसँग भनिसकेको थिएँ । कुनै पनि हालतमा वार्ता हुन नदिनु । वार्ता भयो भने सबै कुरा बिग्रन्छ । योगप्रसादजी मोटर चढेर वार्तास्थल जाने भन्दै हुनुहुन्थ्यो । मैले भनें- होइन, जुलुस लिएर विद्यार्थीहरूका साथ जानुभयो भने इज्जत बढ्छ र बल पनि मिल्छ । भन्दा उहाँहरू दंग पर्दै जुलुसको नेतृत्व गरेर जानुभयो । उहाँहरू भित्र पसे पछि बाहिर विद्यार्थीहरूले भयानक प्रदर्शन गरे । बेलुका चार बजेसम्म पनि वार्ता हुन सकेन । अफिस समय सकिएपछि कर्मचारीहरू पनि वार्तास्थलमा आएर वार्ताकारहरूलाई बाहिर निस्कनै दिएनन् । प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको मोटरमा समेत तोडफोड भयो । उनी बाहिर निस्कनसमेत सकेनन् । अनि त्यही दिन राति उनले राजालाई भेटेर राजीनामा गरे । ——————————– टुँडिखेलको आमसभा राजाको जनआन्दोन सफल भएपछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा छलफल भयो । गाणेशमानजीलाई बनाउने पहिलो प्रस्ताव थियो उहाँले नहुने भनेपछि किसुनजी प्रधानमन्त्री बन्नुभयो । अनि किसुनजीको नेतृत्वमा बनेको सरकारलाई शक्तिशाली बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिइयो । अधिकार सम्पन्न त्यो सरकारलाई १ वर्षभित्र संविधान बनाउने र संसद्को निर्वाचन गर्ने अधिकार दिइएको थियो । २०४६ साल चैत २६ गते टुँडिखेलमा जनआन्दोलन सफल भएको उपलक्ष्यमा विजय जुलुसको आयोजना भयो । मैले त्यो सभामा भनें- प्रजातन्त्रको लडाइँका कसैको हार हुँदैन सबैको जित हुन्छ । त्यसैले आज सम्पूर्ण नागरिकको जित भएको छ । यो जित भनेको राजा र पञ्चहरूको पनि जित हो । बस् ममाथि ढुङ्गा, जुत्ता-चप्पल बर्सियो । त्यसपछि बोल्नै दिइएन । ठीक छ बोल्न दिएनन् भने दिएनन् । आफ्नो विश्वासको कुरा हो । अनि गणेशमानजी मलाई सम्झाउन थाल्नुभयो । किन त्यसरी बोलेको गिरिजाबाबु भन्नुभयो उहाँले । मैले भनें- के भोलि पञ्चायत समर्थकहरूले पार्टी खोलेर प्रजातान्त्रिक पद्धतिमा आएर चुनाव लड्छु भने दिनुहुन्छ कि हुन्न ? त्यसैले यो सबैको जित त हो नि । मैले भनें- मैले आफ्नो अन्तरआत्मादेखि देखेको कुरा बोलेको हुँ । ढुङगा, जुत्ता खाएँ भने पनि ठीक छ । भन्न त गणेशमानजीसँग त्यस्तो भनें तर भित्रभित्रै त्यो घटनाले मेरो मन खिन्न भयो, दिक्क लागेर आयो । त्यहाँबाट सीधै घर गएर सुतें । दरबारबाट राजाका मुख्यसचिव राजाको सूचना लिएर आइपुगे । उनले भने- सरकारबाट हुकुम भएको यो केही पनि होइन एकदमै राम्रो बोल्नुभएको छ । चिन्ता गर्नुपर्दैन । तपाईलाई बधाई छ । त्यो बेला मैले बोलेको कुरा २०५१ को चुनावपछि सावित भयो जब पञ्चायतका प्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा प्रजातान्त्रिक शासन व्यवस्थामा जननिर्वाचित प्रधानमन्त्रीका हैसियतमा प्रधानमन्त्री बने । त्यो बेला मैले संसद्मा भाषण गरेर भनेको थिएँ- हिजो मैले यो जित भनेको पञ्चहरूको पनि जित हो भन्दा ढुङगा, इँटा र जुत्ता खाएँ । आज तिनै पञ्चायतका प्रधानमन्त्री चन्द र थापा प्रधानमन्त्री भएका छन् । त्यो बेला सत्य बोल्दा तपाईहरूले (कम्युनिस्ट) मलाई जुत्ता हान्नुभयो । अहिले पनि मेरो त्यही विश्वास छ । ———————————— कम्युनिस्टविरोधी छवि हुन त म सुरुमा कम्युनिस्ट नै थिएँ । मैले पहिला पनि भनिसकेको छु । कम्युनिस्टका बारेमा माक्र्स र लेनिनका थुप्रै पुस्तक पढें । बीपीसँग पनि मैले धेरै छलफल गरें । उहाँले मलाई रुसमा लेनिनले निर्वाचित संसद्लाई घेरेर शक्ति आफ्नो हातमा लिएको घटना सुनाउनुभयो । जसलाई अक्टोबर क्रान्ति भनेर चिनिन्छ । यी सबै कुराले म प्रजातान्त्रिक धारप्रति मेरो लगाव बढ्दै गयो । त्यसैगरी बनारसमा पढ्दाको अर्को घटना पनि छ । मेरो अभिभावकका रूपमा सान्दाजुका एकजना साथी थिए । उनी कम्युनिस्ट विचारधारा राख्थे । त्यसैले सधैं घरमा कम्युनिस्टका कुरा मात्र हुन्थे र माक्र्स र लेनिनका पुस्तक मात्र पढ्ने गरिन्थ्यो । म कम्युनिस्ट निकट हुनुको यो अर्को कारण थियो । एकपटक कटन मिल हडताल गर्ने भनेर उनले मलाई पनि लगेका थिए । जहाँ ठूलो आक्रमण भयो र उनको टाउको समेत फ्टयो हामी भागेकाले बच्यौं । त्यस्तै घटनै घटनाले मेरो मन प्रजातन्त्रवादी धारतिर आकषिर्त भएको हो । विराटनगर जुट मिल आन्दोलनका क्रममा पक्राउ परेपछि हामीलाई धनकुटा हुँदै काठमाडौं ल्याइयो । हामीले एउटा बंगलामा थुनिएको थियो । घरको अघि चौर थियो हामी त्यही घुमेर समय बिताउँथ्यौं । हामीसँग मनमोहन अधिकारी -कम्युनिस्ट नेता) पनि थुनिएका थिए । उनीसँग मेरो निकै बहस हुन्थ्यो । कुरै कुरामा प्रायः झगडा नै हुन्थ्यो । उनी कम्युनिस्ट हामी कम्युनिस्टविरोधी । फेरि २००७ जब नेपाली कांग्रेसले क्रान्ति गर्‍यो त्यो बेला कम्युनिस्टहरूले राणालाई सहयोग पुग्ने भूमिका निर्वाह गरे । जसरी २०३६ सालको जनमतसंग्रहमा उनीहरूले बहुदलको विरुद्ध नीलोमा मत नहालेर पहेंलो -सुधारिएको पञ्चायतका पक्षमा) मत हाले । सधैं यिनीहरूको भूमिका प्रजातन्त्रवादीलाई नभएर प्रतिक्रियावादीलाई सघाउनमै केन्दि्रत भएको हुँदा म एकदमै एन्टी कम्युनिस्ट हुँदै गएँ । अहिले देशको अवस्था हेर्दा सबैलाई समेटेर जानुपर्ने अवस्था आयो । फेरि कम्युनिस्ट पनि त परिवर्तन वा परिमार्जन हुन सक्ने रहेछन् । पहिलेको माले हाल एमालेले पनि त त्यो बेला मान्छे काटेकै हुन् । तर अहिले संसदीय प्रजातन्त्रमा आए । मलाई लाग्यो- प्रजातन्त्रवादीले गैरप्रजातन्त्रवादीलाई पनि प्रजातन्त्रको बाटोमा लैजान उनीहरूको मन परिवर्तन गराउने रणनीतिमा जानुपर्छ भनेर नै मैले कम्युनिस्टहरूसँग हातेमालो गरेर अघि बढ्ने राणनीति लिएको हुँ । माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन सकिन्छ र बन्दुकभन्दा विचार शक्तिशाली छ भन्ने कुरामा दृढ भएर नै मैले उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने प्रयास थालेको हुँ । कान्तिपुर टेलिभिजनका लागि २०६४ मा जगत नेपालले तयार पारेको \’आफ्नो इतिहास आफ्नै वृत्तान्त\’ कार्यक्रम र कोइरालाको आत्मवृत्तान्त प्रकाशोन्मुख कृतिबाट साभार अंश ।

One Response

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: