नागरिक सर्वोच्चताको माग गर्दै एकीकृत नेकपा -माओवादी)ले सुरु गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत आज भएको सिंहदरबार घेराउ कार्यक्रम झट्ट हेर्दा सङ्गीतमय कार्यक्रमजस्तो देखिन्थ्यो ।
सिंहदरबार घेराउ गर्न आठ नाकामा भेला भएका एकीकृत नेकपा -माओवादी)का कार्यकर्ता बिहान ८:०० देखि अपराहृन ४:०० बजेसम्म नाचगानमा रमाइराखे ।
विगतमा आन्दोलन भन्नेबित्तिकै नारा, जुलुस, टायर बाल्ने तथा ढुङ्गा हान्ने परम्पराविपरीत आजको माओवादी घेराउ कार्यक्रम सङ्गीतमय वातावरण बन्यो ।
भद्रकालीको माओवादी आन्दोलन हेरिरहनुभएका ललितपुरका सागर न्यौपानेले आफूलाई माओवादी आन्दोलन सङ्गीतमय कार्यक्रम हेरेकोजस्तो अनुभूति भइरहेको बताउनुभयो ।
भद्रकालीको माओवादी कार्यक्रममा नेपालकी चर्चित नायिका रेखा थापा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै मञ्चमा नाचेको दृश्यले त्यहाँको वातावरण उल्लासमय बनाएको थियो ।
फिल्म निर्देशक युवाराज लामा, श्याम भट्टराई, दिपक श्रेष्ठ, अशोक शर्मा, सङ्गीतकार चेतन सापकोटा, लक्ष्मण शेष, नायिका उषा पौडेल, कलाकार निर्मल शर्मा ‘गैंडा’ शुलेमान शङ्कर ‘इकु’ देखि निर्देशक राजेन्द्र खड्गीसम्मको कार्यक्रममा सहभागिता देखिएको थियो ।
सिंहदरबार घेराउ गर्न आठ क्षेत्रमा जम्मा भएका माओवादी नेता तथा कार्यकर्ता आठै क्षेत्रमा दोहोरी, पञ्चेबाजा र गीत बजाएर नाचिरहेका देखिन्थे ।
अन्य सबै स्थानमा शान्तिपूर्ण रुपमा नाचगान गर्दै कार्यक्रम सम्पन्न भएपनि हनुमानथान र सडक विभाग अगाडि भने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
बिहान ८ः०० बजेदेखि सुरु भएको घेराउ कार्यक्रम अपराहृन ४ः०० बजे समापन भएको थियो ।
सिंहदरबार वरिपरिका आठ स्थानमा एकत्रित भएर माआवादी नेता तथा कार्यकर्ताले सिंहदरबार घेराउ गरेका थिए ।
घेराउका क्रममा अन्य स्थानमा शान्तिपूर्ण भएपनि जिल्ला प्रशासन कार्यालय र सडक विभाग अगाडिको प्रदर्शनमा भने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा एकीकृत नेकपा -माओवादी) का सचिवालय सदस्यहरु अमिक शेरचन, कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’, सभासद्हरु शिवचन्द्र कुसवाह, भगत वडुवाल, रुपा चौधरीलगायत चार दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको माओवादी पार्टी सचिवालय सदस्य अनन्तले जानकारी दिनुभयो । घाइतेहरुको वीर अस्पताल र जनमैत्री अस्पालमा उपचार भइरहेको बताइएको छ ।
भद्रकाली क्षेत्रको घेराउमा एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, उपाध्यक्ष मोहन वैद्य “किरण”, महासचिव रामबहादुर थापा “बादल”ले नेतृत्व गर्नुभएको थियो भने माइतीघर मण्डल क्षेत्रको घेराउको नेतृत्व सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले गर्नुभएको थियो ।
यसैगरी पद्मोदय मोडमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयमा कृष्णबहादुर महरा, सडक विभागमा अमिक शेरचन, हनुमानथानमा देव गुरुङ, सिंहदरबार पूर्वी गेटमा नेत्रविक्रम चन्द “बिप्लव” र अनामनगरमा गिरिराजमणि पोखरेललगायतका केन्द्रीय नेताहरुले घेराउको नेतृत्व गर्नुभएको थियो ।
सिंहदरबार घेराउलाई दृष्टिगत गर्दै धेरै कर्मचारी घेराउ कार्यक्रमअघि नै सिंहदरबारभित्र प्रवेश गरेका थिए । घेराउका कारण सिंहदरबार वरिपरिका अन्य कार्यालयहरु पनि प्रभावित भएका थिए ।
घेराउका कारण रत्नपार्क, बबरमहल, माइतीघर मण्डल, अनामनगर, पुतलीसडक, सहिदगेटलगायतका क्षेत्रमा यातायात गुड्न नपाउँदा राजधानीका पुरै यातायात व्यवस्था प्रभावित भएको थियो ।
माओवादी सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ ले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा नियोजितरुपमा सरकारले बल प्रयोग गरेको आरोप लगाउनुभयो ।
उहाँले भोलिको सिंहदरबार घेराउ थप सशक्त र शान्तिपूर्णरुपमा हुने दाबी पनि गर्नुभयो ।
Filed under: Entertainment |
Leave a Reply