जोखिमका पाइला/जनयुद्ध डायरी -२

                                            काउलेदेखि काफलडाँडासम्म
                                                         उत्तम कँडेल

यात्राको तेस्रो दिनको बिहान । हामीलाई न्यानो आश्रय दिने काउले गाउँलाई छोडेर सबेरै हामी उकालो लाग्यौँ । महाभारत श्रृङ्खलाको एउटा चोटीमा उकालोको बिसौनीजस्तो चुचुरो आइपुग्यो । त्यो चुचुरोबाट दक्षिणतर्फ हेर्दा चितवनको घना जङ्गल र यसको सुन्दरता आँखा वरिपरि नाच्न थाल्यो । विशाल चितवन लमतन्न परेर सुतेको ठूलो टाटेबाघ जस्तै देखिन्थ्यो । हामीले अघाउँजी त्यो सुन्दरतालाई आत्मसात गर्‍यौँ । त्यहाँबाट देखिने सुन्दरतालाई नहेरूँ भन्दा पनि हाम्रो आँखा जतिखेर पनि त्यतै पुगिहाल्थ्यो । हामी त्यो सुन्दरता हेरेर आफ्नो गन्तव्य बिर्सन सक्दैनथ्यौँ । त्यसैले हामीले उक्त चुचुरो छोड्यौँ । अबको हाम्रो बाटो ओरालोतिर ओरालिएको थियो । रमाइलो वनैवन भएर हामी ओरालो लागिरह्यौँ । ओरालो र्झदै गर्दा शक्तिखोर फेरि एकपटक नजिकै देखियो । चितवनको ऐतिहासिक गढी पुग्दा बिहानको दश बज्यो । यो त्यही गढी हो, जहाँ २०१७ सालसम्म चितवन सेरोफेरोको सदरमुकाम रहेको थियो । राणाकालमा यो गढी एउटा रणनैतिक महत्वको किल्ला रहेछ । २०१८ सालतिर नेपाली काङ्ग्रेसले राजा महेन्द्रको तानाशाही शासन विरुद्ध सशस्त्र विद्रोह गर्दा यही गढीमाथि हमला गरेको थियो । हमलापछि केही समयको अन्तरालमा यो गढीबाट सदरमुकाम भरतपुर सर्‍यो । आज त यो गढी एउटा बञ्जर झाडी जस्तै भएको छ । गढीको इतिहाससमेत ओझेलमा परेकाले यतिखेर यहाँ भग्नावशेष बाहेक खास केही थिएन । यो ऐतिहासिक गढीमा अहिले एकाध घरहरू मात्र देखिए ।
गढीबाट ओरालो झरेर थोरै घुमेपछि हाम्रो टोली सालठाना पुग्यो । सालठानाले हामीलाई औधी माया गरी स्वादिलो खाना खुवाउँदै हार्दिक स्वागत गर्‍यो । त्यहाँबाट हिँड्ने सुरसार गर्दागर्दै हामीले दिउँसो दुई बजेको रेडियो समाचार सुन्यौँ । हेटौँडा, सिन्धुपाल्चोकको मुडे र नवलपरासीमा भिडन्त भएको र त्यहाँँ थुप्रै शाहीसेना हताहत भएको समाचारले हाम्रो ध्यान आकृष्ट गर्‍यो । यस्तो खबरले हामीलाई जनयुद्ध उत्कर्षमा पुग्दै गरेको अनुभव हुन्थ्यो र हामीलाई रोमाञ्चित बनाउँथ्यो । हामी झन् उत्साहका साथ यात्रालाई गति दिन्थ्यौँ । हामी फेरि लामो र ठूलो र्फमेसनमा लामबद्ध भयौँ र गन्तव्य पहिल्याउन थाल्यौँ । हाम्रो नाकै वरिपरि कहिले जङ्गल त कहिले सा-साना गाउँँटोलहरू आउँथे अनि जान्थे । तर हाम्रो यात्रा अघि बढिरहन्थ्यो ।
आजको यात्राकै बीचमा हामीले लामाल आलडाँडा गाउँँलाई भेट्टायौँ । यस गाउँबाट सारा मैदानी चितवनको सिङ्गै सेरोफेरो देखिन्थ्यो । हामीले त्यहीँबाट नारायणघाट बजार, जुुगेडी र समग्र चितवनलाई हेरिदियौँ । यो रमाइलो गाउँँमा हामीले पानी पियौँ र हामी एकछिन सुस्तायौँ पनि । त्यहाँबाट दक्षिणतिर फर्किंदा तल नारायणी नदी नागबेली परेको रमाइलो दृश्य अनि उत्तरतिर फर्किंदा हिमाली श्रृङ्खला र तरेली परेको पहाडी धरातल एकैपटक हाम्रो आँखामा आइपुग्दथे । हेर्दाहेर्दै यस्तो लाग्थ्यो, मानौँ यो गाउँ उत्तरको सुन्दर हिमालय र दक्षिणको विशाल चितवनलाई जोड्ने सङ्गमस्थल हो । यो प्राकृतिक दृष्यावलोकनले हामीलाई जुन सुखद अनुभूति दिन्थ्योे, वरिपरिको गाउँतिर नजर दौडाउँदा देखिएका उजाडउजाड गाउँँ बस्ती र त्यहाँको विकराल गरिबीले उत्तिकै दुखद अनुभूति पनि हुन्थ्यो । यस्तै फरकफरक अनुभूति गर्दै हाम्रो यात्रा जारी रह्यो ।
हाम्रो यात्रा निकै चनाखोपूर्ण पनि थियो । प्रायः हामी सबैका साथमा हलुका रेडियो सेटहरू थिए । खासखास बेलामा रेडियो समाचारतिर पनि हाम्रो ध्यान केन्दि्रत हुन्थ्यो । यसै बीच रेडियो समाचारको एउटा बुलेटिनमा क. प्रशान्तले सैनिक हिरासतमा आत्महत्या गरेको अत्यन्त शङ्कास्पद र आक्रोशित तुल्याउने समाचार दियो । उहाँ माओवादीको काठमाण्डौं संयोजक हुनुहुन्थ्यो । मैले विगत वर्षमा धादिङ मकवानपुरमा रहँदा उहाँसँग परिचय र सहकार्य गर्ने मौका पाएको थिएँ । त्यसताका हामी प्रायः एउटै मोर्चामा हुन्थ्यौँ । उहाँको श्रीमती महान् सहिद क. कौशिल्या पोखरेल पनि हामीसँगै एउटै मोर्चामा हुनुहुन्थ्यो । रहँदा बस्दा अनेकौँ तिता-मीठा अनुभूति रहे पनि उहाँ आफैँमा एक सच्चा जोधाहा क्रान्तिकारी सहयोद्धा हुनुहुन्थ्यो । एक दिन उहाँ पार्टीको आवश्यकता र मागअनुसार उपत्यका छिर्नुभयो । उपत्यका छिर्नु भएपछि सिन्धुलीको एक प्रशिक्षण शिविरमा उहाँसँग मेरो पछिल्लो भेट भएको थियो । त्यतिबेलासम्म क्रियाशील र रचनात्मक काम गर्न सक्ने कार्यकर्ताको रुपमा उहाँको परिचय थियो । काठमाडौंमा जनयुद्घको अनुभूति पैदा हुन सक्ने गरी सङ्गठन र सङ्घर्षको क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्थ्यो ।
मैले केही दिन अगाडि नै उहाँको गिरफ्तारी भएको खबर सुनेको थिएँ तर अचानक जुत्ताको तुनामा झुण्डिएर आत्महत्या गरेको अपत्यारिलो खबरले मेरो मनमा निकै ठूलो झड्का उत्पन्न गरायो । जताबाट नापे पनि त्यो शाही सेनाको क्रूरहत्या र झुट विवरण बाहेक अर्को हुन सक्दैनथ्यो । प्रशान्तले आत्महत्या गरेको झुट विवरण दिएर शाही सेनाले आफ्नो अमानवीयता र क्रूरतालाई छिपाउन खोजिरहेथ्यो । मेरो मनमा शाहीसेनाको क्रूर यातनाको तस्विर आँखै अगाडि नाचिरह्यो । साथै मनमा आक्रोश र घृणा उत्पन्न भैरहृयो । प्रशान्तको हत्याप्रति आक्रोशित बनिरहेको बेलामा पार्टी सूत्रबाट प्रशान्त पक्राउ परेको होइन, दुश्मन सामु आत्मसमर्पण गरेको थियो भन्ने अर्को खबर पनि सुनेँ । मलाई पछिल्लो खबर त झन पत्याउन गाह्रो पर्‍यो । पार्टीले पनि हतार र हचुवा विश्लेषण गरेछ कि भन्ने पनि लाग्यो । एकातिर दुश्मनको क्रूर यातना र झूट बयान अर्कोतिर पार्टीको अपत्यारिलो वक्तव्य सुनेर म निकैबेर रन्थनिएँ । दुबै खबर पत्याउन नसकिने खालका थिए । तर मलाई क. प्रशान्तको मरण एक सम्मानित मरण हो भन्ने लागिरहृयो । दुनियाँ र राष्ट्रलाई परिवर्तन गर्ने यो महान् युद्घमा हामीले सैयौँ हजारौँ सहिदहरू जन्माउनुपर्छ । यो क्रान्तिको अनिवार्य नियम हो । क. प्रशान्तको सहादतलाई मैले उच्च सम्मान गर्दै एक पटक शिर निहुराएँ । अनि टोलीसँगै हिँडिरहेँ ।
क. प्रशान्तको हत्याको प्रसङ्गले निकै लामो बाटो पनि सुइत्तै कटेको हामीलाई पत्तै भएन । त्यस दिन हामी ढोडेनी हुँदै साँझ सकिएर रात पर्नै लागेको बेला कविलासअन्तर्गत एउटा अर्को गाउँ रातमाटे पुग्यौँ र खाना खायौँ । खाना खाएर हामीसँग आराम गर्ने समय कहाँ थियो र Û नजिकै रहेको एउटा अत्यन्तै संवेदनशील नाका हामीले पार गर्न बाँकी नै थियो । हामी मुग्लिन नारायणघाट खण्डको राजमार्गमा पर्ने गाईघाट झर्‍यौँ । गाईघाट, हो यही ठाउँ नै त्यो अत्यन्त संवेदनशील नाका थियो । यो ठाउँ सशस्त्र प्रहरी बेसक्याम्प रहेको जुगेडीबाट गाडीमा मात्र दस मिनेटको दूरीमा थियो । यहाँँ अक्सर दुष्मनहरू गस्ती गरिरहन्थे । त्रिशुलीको किनारमा रहेको त्यो सानो बजारको नजिक रहेको झोलुङ्गे पुल तरेर हामी उकालो लाग्नुपथ्र्यो । हाम्रो रुटगाइडले त्रिशुलीमाथिको पुल तर्न उपयुक्त समय भएको खबर ल्याएपछि हामी अघि बढ्यौँ । झोलुङ्गे पुल तरेेर लगातार ठाडो उकालो हिँड्दै हामी राति बाह्रबजे तनहुँको सिङ्च्याङ देउराली पुग्यौँ ।
सिङ्च्याङ तनहँु जिल्लाको देवघाट गाविसमा पर्ने एउटा रमाइलो गाउँ रहेछ । सिङ्च्याङ भनेको मगर भाषामा दाउराको थुप्रो भन्ने अर्थ लाग्दो रहेछ । पहिले पहिले बन्दीपुर र लम्जुङतिरका मानिसहरू नुन लिन ठोरी जाने बाटो यही हो रेे । यो बाटो भएर हिँड्ने हरेक यात्रीले त्यहाँ रहेको प्रहरी चौकीलाई उर्दीको रुपमा दाउरा दिनुपर्ने रहेछ । सिङको अर्थ दाउरा र च्याङको अर्थ थुप्रो हुन्छ । यात्रीबाट बटुलिएको दाउराको ठूलो थुप्रो जहिलेसुकै हुने हुनाले त्यसलाई सिङ्च्याङ भनिँदै आएको रहेछ । तर यतिखेर सिङच्याङमा न प्रहरी चौकी थियो न दाउराको थुप्रो नै । त्यसैले हामीले त्यहाँ दाउराको थुप्रोमा दाउरा थप्नु परेन । हामी सिङ्च्याङमा धेरैबेर रोकिएनौँ ।
सिङ्च्याङबाट वनको ठाडो उकालो उक्लँदै काफलडाँडा पुग्दा अर्को एक घण्टा बित्यो । जम्माजम्मी करिव बाह्र घण्टाको लगातार हिडाँइपछि हामी यहाँँ आइपुगेका थियौँ । यतिबेलासम्ममा हाम्रो शरीर थाकेर लोथ भइसकेको थियो । भोक, निन्द्रा र थकाइले हामी सबैलाई एकैचोटी एम्बुसमा पारेको थियो । केही साथीहरू त विरामी नै हुनुभयो । मलाई रुघाले नराम्रोसँग आक्रमण गर्‍यो । त्यो थकित रात काफलडाँडाका घरहरूमा हामी बाँडिएर सुत्यौँ । संयोगवस अपेक्षाकृत न्यानो ठाउँमा सुत्न पाएकोले म चाहिँ भुसुक्कै निदाएछु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: