दसबुँदे सगरमाथा घोषणापत्र जारी गर्दै मन्त्रिपरिषद्को बैठक सम्पन्न

स्याङ्बोचे (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठकले १० बुँदे सगरमाथा घोषणापत्र पारित गरेको छ ।
घोषणापत्रमा जलवायु परिवर्तनको दृष्टिले जोखिममा परेका हिमालय र पर्वतीय पर्यावरणीय प्रणालीलाई जोगाउन तथा विश्व समुदायको ध्यानाकर्षण गराउने निर्णय गरेको उल्लेख छ ।
यसैगरी बैठकले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको विषम परिस्थितिबाट स्थानीय जनजीविका, सिमान्तकृत समूह, आदिवासी समूह, महिला, बालबालिकामा पर्ने असरबारे स्थानीय र राष्ट्रिय जनचेतना सञ्चालन गर्ने निर्णय गरेको छ ।
कृषि र अन्य क्षेत्रमा सामयिक अनुकूलन गर्न पूर्व सूचना प्रणाली, जलवायु परिवर्तनको प्रारुपहरुको विकास एवम् क्षमता अभिवृद्धिको उपाय अवलम्बन गरिने भएको छ ।
बैठकले पर्वतीय पर्यावरणीय संरक्षण गर्ने क्रममा २० प्रतिशत संरक्षित भू-भागलाई २५ प्रतिशतमा पुर्‍याउने र ४० प्रतिशत वन क्षेत्र पुर्‍याउन अपिनप्पा र गौरीशङ्करलाई संरक्षण क्षेत्रको रुपमा घोषणा गरेको छ ।
जलवायु परिवर्तनबाट जलस्रोत, वन, कृषि, मानव जीवन एवम् मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय अनुकूलन प्रभावकारीरुपमा कार्यान्वयन गर्न विश्व समुदायको सहयोग प्राप्त गर्ने, साथै विकसित मुलुकहरुले कूल गार्हस्थ्य उत्पादनको एक दशमलव पाँच प्रतिशत जलवायु अनुकूलन कोषमा योगदान गर्ने प्रस्तावको समर्थन गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न स्याङबोचेमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधवकुमार नेपालले स्वच्छ ऊर्जाको विकासबाट नेपालले यस क्षेत्रमा कार्बन उत्सर्जन कम गर्न सकिने विश्वास राख्दै यसका लागि उपयुक्त एवम् आधुनिक प्रविधिको विकास एवम् सुलभ हस्तान्तरण तथा छिमेकी राष्ट्रहरुको ध्यानाकर्षण गराउने निर्णय भएको पनि जानकारी दिनुभयो ।
स्वच्छ विकास संयन्त्र -सिडिएम)मा रहेको कोषबाट नेपालले लाभ लिनका लागि गरिब मुलुकका लागि बढी लाभ वितरण गर्न तथा हिमस्खलन प्रक्रियामा हिमाली क्षेत्रको जलवायु परिवर्तनको असरबारे अध्ययन अनुसन्धान कम भएकोले तत्सम्बन्धी ज्ञानको कमी पूरा गर्न पहल गर्ने पनि निर्णय गरिएको छ ।
मानव क्रियाकलापबाट जलवायु परिवर्तनमा भयावह स्थिति सिर्जना हुन नदिन वायुमण्डलमा हतिरगृह ग्यासको मात्रा ३५० पिपिभन्दा कम हुनुपर्ने तथा पृथ्वीको औसत तापक्रम औद्योगीकरणको थालनी पूर्वको तहभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी नगर्न पनि मन्त्रिपरिषद्ले आहृवान गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री नेपालले नेपालको इतिहासमा सबैभन्दा उचाईमा बसेको मन्त्रिपरिषद्को आजको बैठकले सगरमाथा घोषणापत्र जारी गरी विश्व समुदायलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनबाट परेको असरको बारेमा जानकारी गराउनुका साथै जलवायु परिवर्तनप्रति सामूहिक प्रतिबद्धता व्यक्त गर्न र यसबाट सिर्जित नकारात्मक प्रभावबाट बच्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनबाट सिर्जित समस्या नेपालको कारणबाट नभई औद्योगिक तथा विकसित मुलुहरुबाट भएकोले ती मुलुकहरुले नेपाललगायत विकासोन्मुख मुलुकमा थप लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा हिमाली र समुद्रीतटका मुलुकहरु प्रभावित रहेकोले विश्व समुदायमा यसबारेमा सामूहिकरुपमा आवाज उठाउनुपर्दछ भन्नुभयोे ।
पृथ्वी हाम्रो साझा घर हो, यसको संरक्षण गर्नु हाम्रा लागि र हाम्रा भावी सन्ततिको लागि आवश्यक छ भन्ने मान्यताअनुसार वातावरण संरक्षणमा ध्यान दिनु जरुरी भएको उल्लेख गर्दै  उहाँले हिमालय क्षेत्रमा परेको असर दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणमा असर पुगेकोले यसतर्फ सबैको ध्यान जानु आवश्यक छ भन्नुभयो ।
पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि उपस्थित हुनुहुन्थ्यो । सरकारले घोषणा गरेका दस वटा बुँदा यसप्रकार छन् :

१. जलवायु परिवर्तनको दृष्टिले जोखिममा रहेका हिमालय र पर्वतीय पर्यावरणीय प्रणालीलाई जोगाउन तथा विश्व समुदायको ध्यानाकर्षण गराउन दक्षिण एसियाली मुलुकहरुलगायत सबै पक्ष राष्ट्रहरुसँग सहकार्य गर्ने प्रतिबद्धता गर्दछ।

२. जलवायु परिवर्तनले हिमालय पर्वतमाला एवम् प्रभावित क्षेत्रमा उत्पन्न गरेको विषम परिस्थितिबाट स्थानीय जनजीविका एवम् जीवननिर्वाह प्रणाली खासगरी गरिब, सीमान्तकृत समूह, आदिवासी, दलित, महिला तथा बालबालिकामा पर्नसक्ने असरको अध्ययन एवम् न्यूनीकरणका उपायहरुबारे स्थानीय एवम् राष्ट्रियस्तरमा जनचेतना अभियान संचालन गर्ने।

३. जलवायु परिवर्तनको नकारात्मक असरको समयमै उचित सम्बोधन गर्न तथा कृषि र अन्य क्षेत्रमा सामयिक अनुकूलन ९च्भकष्ष्भिलअभ० अभिवृद्धि गर्न पूर्व सूचनाप्रणाली, जलवायु परिवर्तनका प्रारुपहरुको विकास एवम् क्षमता अभिवृद्धिका उपायहरु अवलम्बन गर्ने।

४. पर्वतीय पर्यावरणलाई संरक्षण गर्ने क्रममा संरक्षित क्षेत्रको विस्तार गरी नेपालको हालको २० प्रतिशत संरक्षित भूभागलाई २५ प्रतिशतमा पुर्‍याउने र वन क्षेत्र ४० प्रतिशतलाई सुदृढ बनाउने। हाम्रो प्रतिबद्धतालाई प्रस्ट पार्न गौरीशंकर र अपिनप्पा संरक्षित क्षेत्र घोषणा गर्ने।

५. जलवायु परिवर्तनबाट नेपालको सामाजिक-आर्थिक क्षेत्र खासगरी जलस्रोत, कृषि, जैविक विविधता, वन, मानव जीवन, मानव स्वास्थ्यमा पर्नजाने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय अनुकूल कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विश्वसमुदायको सहयोग प्राप्त गर्ने। साथै विकसित मुलुकले कुल ग्राहस्थ उत्पादनको कम्तिमा १.५ प्रतिशत जलवायु अनुकूलन कोषमा योगदान गर्ने प्रस्तावको समर्थन गर्ने।

६. नेपालले स्वच्छ ऊर्जा क्षेत्रको विकासबाट यस क्षेत्रकै कार्वन उत्सर्जन कम गर्न सकिने विश्वास राख्दै यसको लागि उपयुक्त र आधुनिक प्रविधिको विकास एवम् सुलभ हस्तान्तरण तथा लगानीका लागि विकसित र छिमेकी राष्ट्रहरुको ध्यानाकर्षण गर्ने।

७. स्वच्छ विकास संयन्त्रमा रहेको कोषबाट नेपालले पूर्णलाभ लिनका लागि यस संयन्त्रले सहयोग गर्न बनाएका प्रावधानहरु परिमार्जित गरी गरिब मुलुकहरुका लागि अझ बढी सुलभ र लाभदायी बनाउन पहल गर्ने।

८. मानव क्रियाकलापबाट जलवायु परिवर्तनसम्बन्धी भयावह स्थिति सिर्जना हुन नदिन वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा ३५० पीपीएम (पार्ट्स पर मिलियन) भन्दा घटी हुनुपर्ने तथा पृथ्वीको सतहको औसत तापक्रम औद्योगिकरण थालनी पूर्वको तह  भन्दा १.५ डिग्री सेन्टिगे्रड भन्दा बढी नगर्न आह्वान गर्ने।

९. हिमगलनको प्रक्रियामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे धेरै कम अध्ययन-अनुसन्धान भएकाले तत्सम्बन्धी ज्ञानको कमी पूरा गर्न पहल गर्ने।

१०. हरितगृह ग्यास लगायत अन्य क्रियाकलापबाट पर्वतीय पर्यावरण र हिमालयमा पर्ने गम्भीर असर न्यून गर्न, हरितगृह ग्यास उत्सर्जनको मात्रा कम गर्न आह्वान गर्ने। साथै, हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रलाई क्षतिपूर्ति दिन लगाई त्यस्तो ग्यासको नकारात्मक प्रभावमा रहेको गरिब देश एवम् जनतालाई राहत पुर्‍याउन सबैको ध्यानाकर्षण गर्ने।

२०६६ मङ्सिर १९ गते

४ डिसेम्बर, २००९

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: