•एचआईभी जोखिम:सम्भावित संक्रमणबाट बच्न सकिन्छ

दुर्घटनावश एचआईभी सर्न सक्ने जोखिमपूर्ण व्यवहारमा परिसकेपछि के गर्ने ? संक्रमण हुन नदिन के गर्ने ? उत्तर पाउन गारो भए पनि चिकित्सकहरू ‘पोस्ट एक्सपोजर प्रोफाइलेक्सिस  (पीईपी)’ को शरणमा गए केही हदसम्म संक्रमणबाट बच्न सकिने बताउँछन् ।

दुर्घटनावश एचआईभी सर्न सक्ने जोखिमपूर्ण व्यवहारमा परेर हाल पूर्ण निरोग रहेका व्यक्ति हाम्रो मुलुकमै थुप्रै छन् । उपत्यकामा केही वर्षयता पीईपी सेवा लिनेहरूको संख्यामा वृद्घि देखिएको छ । तर पीईपीबारे जनमानसमा जानकारी नरहेको चिकित्सक र एचआईभी संक्रमितहरू नै स्वीकार्छन् ।

‘हालसम्म ६३ जनालाई मैले पीईपी सेवा दिएँ,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका डा. सुशीलकुमार शाक्य भन्छन्, ‘पीईपी लिइसकेकाहरूमध्ये पछि गएर कसैलाई पनि एचआईभीको संक्रमण देखिएको छैन ।’ शल्यक्रियाका बेला दुर्घटनावश एचआईभीको जोखिममा परेका ८ चिकित्सकले पीईपीबारे सल्लाह लिएको र तीमध्ये ५ जनाले औषधिसमेत सेवन गरेको उनी बताउँछन् ।

‘सौभाग्यवश सबै चिकित्सक पूर्ण स्वस्थ छन्,’ शाक्य भन्छन् ‘पीईपीले जोखिममा परेकाहरूमा एचआईभी संक्रमणको दर ८० प्रतिशतले कम भएको विश्वव्यापी मान्यता छ ।’

पीईपी उपचारमा चाहिने २८ दिनको औषधिको हाल भने ९ हजारदेखि १३ हजार रुपैयाँसम्म पर्ने डा. शाक्य बताउँछन् । एचआईभी सर्न सक्ने जोखिमपूर्ण व्यवहारमा फसेको जति छिटो औषधि सेवन गर्‍यो त्यति नै एचआईभी पोजेटिभ हुने सम्भावना कम हुन्छ ।

‘जोखिमपूर्ण दुर्घटना वा व्यवहारको दुई घन्टाभित्रै औषधि सेवन गर्नु सबैभन्दा राम्रो हो,’ डा. शाक्य भन्छन्, ‘३६ घन्टाभित्रै औषधि खान भने सुरु गरिदिनुपर्छ ।’ उनका अनुसार ७२ घन्टाभित्र जोखिममा रहेकाले औषधि खानुपर्ने वा नपर्ने छुट्याउनुपर्छ । ‘समयमै औषधि खाने कसैलाई पनि पोजेटिभ देखेका छैनौं,’ उनको अनुभव छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार एचआईभी पोजेटिभ व्यक्तिको रगत, वीर्य, वीर्य निस्कनुअघिको तरल पदार्थ, योनि रस वा दूध कुनै एचआईभी नेगेटिभ (स्वस्थ व्यक्ति) को शरीरमा प्रवेश गरे यसको संक्रमण हुन्छ ।

एचआईभी कुनै नसा, मलद्वार वा मलद्वारको बाहिरी तह, योनि वा योनिको बाह्य तह, लिङ्ग, मुख, वा अन्य श्लेष्म झिल्लीहरू (जस्तैः आँखा वा नाकभित्रको श्लेष्म झिल्ली) र घाउ तथा छालाबाट शरीरमा प्रवेश गर्न सक्छ ।

एचआईभी वा अन्य विषाणु/जीवाणुले चोटपटक नलागेको स्वस्थ छालालाई छेड्न सक्दैन । यसैले हात मिलाउँदा, अँगालो हाल्दा, सँगै बस्दा, खाँदा वा खेल्दा एचआईभी संक्रमण फैलिँदैन । यो विषाणु शरीर बाहिर बाँच्न सक्दैन । पसिना, आँसु, बान्ता, मलमूत्र आदिमा एचआईभीको विषाणु अत्यन्तै न्यून हुने भए पनि यसबाट रोग फैलिएका घटना हालसम्म प्रकाशमा नआएको सीडीसीको तथ्य पत्रमा उल्लेख छ ।

यो संक्रमण फैलिने विश्वमा सबैभन्दा सामान्य तरिका एचआईभी पोजेटिभ व्यक्तिसँगको कुनै किसिमको यौन सम्पर्क हो । एचआईभी पोजेटिभ व्यक्तिले उपयोग गरेको सियो वा सियो लगाउने उपकरण अर्को व्यक्तिले प्रयोग गर्दा संक्रमण हुन सक्छ । संक्रमित व्यक्तिको रगत, अंग दान आदिबाट समेत यो सर्न सक्छ ।

‘एचआईभी संक्रमण रोक्ने सर्वोत्तम उपाय संक्रमितको शारीरिक द्रव्यको प्रत्यक्ष सम्पर्कमा नआउनु हो,’ चर्म तथा यौन रोग विशेषज्ञ डा. सागरमणि झा भन्छन्, ‘लेटेक्स कन्डमको होसियारीपूर्वक प्रयोग, संयमित जीवन, एकमात्र यौन साथीप्रतिको बफादारीले एचआईभी संक्रमणलाई रोक्न सक्छ ।’

एचआईभी संक्रमितहरूलाई चिकित्सकीय सेवा दिने क्रममा सम्भावित संक्रमणको जोखिममा परेका चिकित्साकर्मीहरूले सन् १९९६ देखि पीईपी लिने गरेका हुन् । एचआईभी संक्रमित रगतको सम्पर्कमा रहेको सियो घोच्चिनुदेखि चिकित्सकीय स्याहार क्रममा अन्यरूपमा भाइरसको सम्पर्कमा आउँदा सम्भावित संक्रमणबाट जोगिन पीईपी सेवा सुरु भएको हो ।

सन् २००५ देखि सीडीसीले पीईपीबारेको सूचनालाई पुनरावलोकन गरेको छ । सीडीसीले उपचार क्रममा भएको सम्भावित जोखिमका लागि मात्र नभई अन्य कारणले हुने जोखिम नियन्त्रणका लागि समेत पीईपी उपलब्ध रहनुपर्ने जनाएको छ । असुरक्षित यौन क्रियाकलाप, कन्डम फुटदा, लागू औषध उपयोगकर्तासँग सिरिन्ज आदानप्रदान गर्दा, संक्रमित महिलाको दूध सेवन गर्ने बच्चा आदिमा एचआईभी जोखिम हुन सक्छ । सीडीसीको तथ्यांकअनुसार एउटा अध्ययनमा यौनजन्य कारणले सम्भावित एचआईभीको जोखिम देखिएका चार सय केसमा पीईपी लिएका एक जना पनि एचआईभी संक्रमित भएनन् ।

एचआईभी भाइरस शरीरमा कुनै पनि माध्यमबाट प्रवेश गरेपछि ग्रन्थीहरूमा ‘फिक्स’ हुन्छ । एकचोटि ‘फिक्स’ भएपछि औषधिले भने केही असर गर्दैन । भाइरस फिक्स हुन दुईदेखि पाँच दिन लाग्ने भएकाले सकेसम्म छिटो उपचार लाभदायक हुन्छ ।

डा. शाक्यका अनुसार बलात्कारको सिकार भएकाहरूले समेत पीईपी सेवा लिने गरेका छन् । संयुक्त राष्ट्रसंघले आफ्ना कर्मचारीहरूलाई बलात्कारपछि पीईपी सेवा दिने नीति लिएको छ ।

शाक्यका अनुसार सम्भावित एचआईभी संक्रमणको बचाउको उपायअन्तर्गत न्यून र

उच्च जोखिम समूहअन्तर्गत दुई प्रकारले उपचार गरिन्छ । न्यून जोखिममा दुईथरीका औषधिमात्र खानुपर्छ । यस प्रक्रियामा औषधि खर्च भने डेढ हजारदेखि दुई हजारमात्र हुने गरेको छ । व्यवहारमा भने चिकित्सकहरूले दुईथरीका औषधि त्यति चलाएको देखिँदैन । 

उच्च जोखिम देखिनेले तीन थरीका औषधि एक महिनासम्म सेवन गर्नुपर्छ । यसमा भने उपचार खर्च ९ हजारदेखि १३ हजारसम्म पर्छ ।

पीईपी बारम्बार लिन सकिन्न । जीवनमा अधिकतम एक/दुईपटक यो सेवाको माध्यमले एचआईभीजन्य जोखिमबाट बच्न सकिन्छ । एकपटक पीईपी लिइसकेकाहरूले पुनः उक्त सेवा लिँदा उपयोग गरिने औषधिबाट प्रति ‘प्रतिरोध’ विकसित हुने सम्भावना हुन्छ । Kantipur dainik

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: