को-को थिए माघ १९ का डिजाइनर ?

‘शरदचन्द्र शाहले एमाले र कांग्रेस, रमेशनाथ पाण्डेले अन्तर्राष्ट्रिय समुदाय र पशुपतिभक्त महर्जनले समग्र राजनीति र प्रशासन सम्हाल्ने जिम्मा लिएर माघ १९ को डिजाइन गरेका थिए’
तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ को कदम चाल्नुअघि यसको जानकारी अरू तीनजनालाई मात्र थियो । मौका यही हो, ठोक्नुपर्छ भनेर सल्लाह दिने तीन हस्ती थिए- शरदचन्द्र शाह, रमेशनाथ पाण्डे र पशुपतिभक्त महर्जन । तर, स्रोतका अनुसार अहिले यी तीनैजनासँग पूर्वराजाको सम्बन्ध बिगि्रएको छ ।

रिसाएका पूर्वराजालाई मनाउन उनका पूर्वसल्लाहकारले पटक-पटक प्रयत्न गरे पनि असफल भएका छन् । शाह, पाण्डे र महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति ‘अनुकूल’ भएको भन्दै राजालाई सत्ता हत्याउन ‘उक्साएका’ थिए, तर परिस्थिति सम्हाल्न उचित सल्लाह दिन नसकेको भन्दै ज्ञानेन्द्र रिसाएका हुन् ।

पञ्चायतकालमा सूर्यबहादुर थापाबाटै ‘भूमिगत गिरोह’को उपाधि पाएका शरदचन्द्र शाहले समेत अहिले ज्ञानेन्द्रलाई भेट्न पाएका छैनन् । उनी बहुदलको १५ वर्षपछि ०६१ मा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा पनि राजाका सक्रिय सल्लाहकार थिए ।

राजाको प्रत्यक्ष शासनकालमा सबैभन्दा निकट रहेका शरदचन्द्र शाहले पूर्वराजालाई चार महिनादेखि भेट्न खोजेका छन्, तर सकेका छैनन् । स्रोतका अनुसार शाहले पूर्वराजालाई भेट्न दरबारका पूर्वसचिवहरू सागर तिमिल्सिना, फणि पाठक र मधु तिमिल्सिनामार्फत पटक-पटक ‘बिन्ती जाहेर’ गरेका छन् । तर, समय पाउन सकेका छैनन् ।

स्रोतका अनुसार राजाले सत्ता हातमा लिएका वेला परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका डा. रमेशनाथ पाण्डे र पशुपतिभक्त महर्जनलाई पनि पूर्वराजाले भेट दिएका छैनन् । उनीहरूले गलत सल्लाह दिएकाले आफू फसेको भन्दै ज्ञानेन्द्र रिसाएका छन् ।

मुख्यतः तीन सल्लाहकारको विश्वासमा परेर आफूले माघ १९ को कदम चाले पनि अप्ठ्यारो परेपछि सल्ल्ााहकारहरूले केही गर्न नसकेको र राजसंस्थासमेत विघटन भएको भन्दै ज्ञानेन्द्र रिसाएका हुन् । ‘त्यसैले उनी माघ १९ को कदममा प्रत्यक्ष या परोक्ष रूपमा सघाउने सल्लाहकारहरूसँग टाढै बस्न चाहन्छन्,’ स्रोतको दाबी छ ।

त्यति मात्र होइन, राजाको प्रत्यक्ष शासनकालका दुईजना उपाध्यक्ष तुलसी गिरी र कीर्तिनिधि विष्टलाई पनि पूर्वराजाले भेट्ने समय दिएका छैनन् । राजाको प्रत्यक्ष शासनकालमा परराष्ट्रमन्त्री भएका रमेशनाथ पाण्डेसँग पनि पूर्वराजाको भेटघाट भएको छैन ।

बरु सत्ता हातमा लिनु हुदैन भनेर सल्लाह दिने प्रभाकरशमशेर राणासँग भने पूर्वराजाको सम्बन्ध अहिले बढेको छ । राजाको प्रत्यक्ष शासनमा भने प्रभाकरका कुरा पूर्वराजाले सुन्दैनथे । अझ प्रभाकारका छोरा सिद्धार्थ राणा र पारसबीच झगडा भएपछि सम्बन्ध अझै चिसिएको थियो ।

स्रोतका अनुसार माघ १९ को कदमको विषयमा राजा ज्ञानेन्द्रबाहेक शाह, पाण्डे र महर्जनबीच मात्र छलफल भएको थियो । त्यतिखेर पाण्डेले अन्तर्राष्ट्रिय समर्थन मिलाउने जिम्मा लिएका थिए ।

राजाका दोस्रो सल्लाहकार शरदचन्द्र शाहले राजाले सत्ता हातमा लिएपछि आन्तरिक राजनीति मिलाउने जिम्मा लिएका थिए । स्रोतका अनुसार शाहले एमाले नेता वामदेव गौतम र केपी ओलीलाई मात्र होइन, सुजाता कोइरालामार्फत गिरिजाप्रसाद कोइरालासँग सम्पर्क गरिसकेको दाबी गर्दै राजालाई अघि बढ्न सुझाब दिएका थिए ।

अर्का सल्लाहकार पशुपतिभक्त महर्जन पूर्वराजाका मुख्यसचिव पनि थिए । उनले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति राजाको पक्षमा भएको भन्दै शक्ति हत्याउन सुझाब दिएको स्रोतको दाबी छ ।

ज्ञानेन्द्रले शक्ति हातमा लिँदा नेपालमा अमेरिकी राजदूत थिए- जेम्स एफ मोरियार्टी । महर्जनले मोरियार्टीसँग समेत कुरा मिलाउनेमा तत्कालीन राजालाई विश्वस्त बनाएका थिए ।

मोरियार्टीले त्यतिवेला भाषणमा भनेका थिए, ‘घर जलिरहेको छ तर पार्टीहरू मास्टरबेडमा को बस्ने भन्ने होडबाजी गरिरहेका छन् ।’

मोरियार्टी र उनको अमेरिका नेपालका राजनीतिक दलसँग दिक्क भइसके, यही वेला हो ठोक्ने भन्दै सल्लाहकारले ज्ञानेन्द्रलाई शक्ति हत्याउन सुझाब दिएका थिए । हुन पनि राजाले माघ १९ को कदम चालेकै दिन दिउँसो १२ बजे केही विदेशी राजदूतहरू बेलायती राजदूतको निवासमा बैठक बसे, तर उनीहरूले माघ १९ को कदमलाई न समर्थन गरे न खुलेर विरोध नै ।

तत्कालीन राजाले कदम चालेपछि शरदचन्द्र शाह ‘लाइन मिलाउन’ भारत गएका थिए । स्रोतका अनुसार उनले भाजपा नेता लालकृष्ण आडवाणीसँग पनि भेट गरे । ‘तर, शाह आफैंले रक्सी खाएर आडवाणीसँग भेट गरेकाले राजाको कदमबारे राम्ररी डिल गर्न नसकेको रिपोर्ट तत्कालै राजासँग आयो । तर, त्यो पूर्वराजाले शाहलाई माफ गरे,’ स्रोतले भन्यो । तर, त्यही दिनदेखि ज्ञानेन्द्र र भारतको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन ।

त्यसो त शरदचन्द्र शाहकै सिफारिसमा बेंग्लोरबाट डा. तुलसी गिरीलाई झिकाएर उपाध्यक्ष बनाइएको हो । माघ १९ को कदम चाल्नुभन्दा केही महिनाअघि गिरीलाई सुटुक्क बोलाई राजासँग भेट गराइएको थियो, भेटको कार्यक्रम पनि शाहले नै मिलाएका थिए ।

‘तुलसी गिरीलाई उपाध्यक्ष बनाएपछि म आफैं बद्नाम भएँ,’ स्रोतका अनुसार ज्ञानेन्द्र अहिले भन्दै छन् ।

राजाका मन्त्रीहरूमा टंक ढकाल, भरतबहादुर जिसीलगायतका आधाभन्दा बढी मन्त्रीहरू श्ााहकै सिफारिसमा नियुक्त भएका थिए । तर, ती नियुक्तहरू राजासंस्था जोगाउने र राजालाई लोकपि्रय बनाउनेभन्दा पनि आफ्नै स्वार्थमा केन्दि्रत भएको विश्लेषण ज्ञानेन्द्रले गरेको स्रोतको दाबी छ ।

तर, शाह र पाण्डे दुवै आफू राजाको सल्लाहकार नभएको दाबी गर्छन् । ‘म राजाको सल्लाहकार कहिल्यै भइनँ । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको वेला प्रधानमन्त्रीको सल्लाहकार थिएँ । माघ १९ पछि सूचना आयोगको अध्यक्ष मात्र थिएँ । यो कुरा त मैले रायमाझी आयोगलाई पनि भनेको छु,’ शाहले नयाँ पत्रिकासँग भने ।

राजासँग अहिले तपाईंको भेटघाट हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा शाहले भने, ‘राजासँगको मेरो सम्बन्धबारे म मिडियासँग बोल्दिनँ ।’

तर, रमेशनाथ पाण्डेले भने अचेल पूर्वराजासँग आफ्नो भेट नभएको स्विकारे । ‘-पूर्वराजासँग) आजभोलि भेट हुँदैन,’ उनले दाबी गरे, ‘तर त्यो कदम -माघ १९ को) बारे पनि मलाई थाहा थिएन ।’

तत्कालीन राजाको कदम किन असफल भयो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘यसको जिम्मा इतिहासलाई छोडौँ । राजाको शासनकालका मुख्य हर्ताकर्ता पशुपतिभक्त महर्जन भने कहिलेकाहीँ नागार्जुन र निर्मलनिवास जान्छन् । तर, उनी आफैंले पनि समय पाउन पूर्वराजाका पूर्वसचिव सागर तिमिल्सिना, मधु तिमिल्सिना र फणि पाठकलाई फोन गर्नुपर्छ । उनीहरूले समय मिलाइदिए मात्र महर्जनले ज्ञानेन्द्रको ‘दर्शनभेट’ पाउँछन् । तर, पाठक र तिमिल्सिना बन्धुसँग भने पूर्वराजाको अहिले पनि राम्रै सम्बन्ध छ । सागर तिमिल्सिना त पूर्वराजा भारत जाँदा सँगै थिए ।

यसैगरी पूर्वसैनिकसचिव शान्तकुमार मल्ल, मानार्थ एडिसी भरतकेशर सिंह तथा पूर्वरानी कोमलका दाजु सुरजशमशेर राणा र डिबी राणासँग अहिले पनि पूर्वराजाको नियमित भेटघाट हुने गरेको स्रोतको दाबी छ । भरतकेशर सिंह त पूर्वराजासँग भेटघाट भइरहेको बताउँछन् । ‘म सल्लाहकार त होइन, तर नियमित भेटघाट हुन्छ,’ उनले भने ।

यसैगरी राजाको पालामा केशरजंग रायमाझी पनि निकट मानिन्थे । अहिले पनि नजिकै छन् । ‘त्यतिखेर मैले राजनीतिक दलहरू र माओवादीसँग वार्ता गर्न सल्लाह दिएको थिएँ, तर अन्य सल्लाहकारहरूले राजालाई गलत सल्लाह दिएर उक्साए,’ उनी भन्छन् । उनी पूर्वराजासँग कहिलेकाहीँ भेट हुने गरेको बताउँछन् ।

पूर्वराजाका सल्लाहकारहरू को के भन्छन्

तपाईं राजासँगको सम्बन्धको विषयमा मलाई नसोध्नुहोस् । यो विषयमा म केही बोल्न चाहन्नँ । राजासँग मेरो केही गुनासो छैन । र, भन्नु पनि केही छैन । म राजाको सल्लाहकार होइन । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको वेला (प्रधानमन्त्रीको) सल्लाहकार भएको थिएँ । म राजाको सल्लाहकार होइन भनेर त रायमाझी आयोगलाई पनि भनिसकेको छु  

शरदचन्द्र शाह

राजासँग आजभोलि मेरो भेट भएको छैन । उनीप्रति मेरो गुनासो छैन । केही सल्लाह पनि छैन । राजासँग मेरो सम्बन्ध राजनीति सुरु गरेदेखि नै हो । तर, माघ १९ को कदमबारे मलाई केही थाहा थिएन । नयाँ पत्रिका

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: