विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या शतप्रतिशत वृद्धि

विवाह-बन्धनमा बाँधिनुपूर्व नै यौनसम्पर्क गर्ने नेपाली युवा-युवतीको संख्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । सुनौलो परिवार नेपालले गरेको पछिल्लो अध्ययनअनुसार विवाहअघि यौनसम्पर्क गर्ने युवायुवतीको संख्या शत् प्रतिशत बढेको छ ।

सो संस्थाले मकवानपुर, चितवन, नवलपरासी, पर्सा, झापा, ललितपुर र बाँकेका एक हजार अविवाहित युवा-युवतीमा अध्ययन गरेको थियो । ‘यो सन् २००९ को सबैभन्दा पछिल्लो अध्ययन हो, अध्ययनमा अघिल्लो तुलनामा शत् प्रतिशत वृद्धि भएको पाइयो,’ संस्थाका सहनिर्देशक प्रवीण शाक्यले नयाँ पत्रिकासँग भने ।

अध्ययनमा १० दशमलव दुई प्रतिशत सहभागीले विवाहपूर्व नै यौनसम्पर्क राखेको बताएका थिए । यसअघि गरिएको अध्ययनमा पाँच दशमलव चार प्रतिशत युवा-युवतीले मात्र विवाहअघि यौनसम्पर्क गरेका बताएका थिए ।

विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या वृद्धिसँगै गर्भपतन गराउने युवतीको संख्या पनि बढेको सो संस्थाले जनाएको छ । आर्थिक वर्ष ०६५/६६ मा सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरिस्टोप्स सेन्टरबाट ७४ हजार ६ सय ६० जनाले गर्भपतन सेवा लिएका छन् । गत वर्ष देशका विभिन्न स्थानमा रहेका मेरिस्टोप्स सेन्टरबाट ५४ हजार आठ सय ८५ जनाले गर्भपतन सेवा लिएको सुनौलो परिवार नेपालले जनाएको छ ।

अनुसन्धानले गर्भपतन सेवाबारे सर्वसाधारणमा जानकारी बढेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये ८७ प्रतिशतमा गर्भपतन सेवाबारे जानकारी रहेको पाइएको छ । यसअघिको अध्ययनमा ८० प्रतिशत सहभागीले मात्र गर्भपतनबारे थाहा भएको बताएका थिए । तर, गर्भपतनले कानुनी मान्यता पाएकोबारे अझै पनि ६७ प्रतिशत मात्र जानकार छन् । यसअघिको अध्ययनमा ४८ प्रतिशत सहभागीले मात्र आफूहरूले गर्भपतन सेवाबारे सुनेको बताएका थिए ।

त्यस्तै अनुसन्धानले परिवार नियोजनको साधनबारेको जनचेतनामा पनि वृद्धि भएको देखाएको छ । विगतको अनुसन्धानमा कम्तीमा एउटा परिवार नियोजनको साधनबारे जानकारी भएकाहरू ९० प्रतिशत थिए । तर, पछिल्लो अध्ययनले करिब ९८ प्रतिशतमा परिवार नियोजनका साधनबारे जानकारी रहेको देखिएको छ ।

परिवार नियोजनका साधनमा सबैभन्दा बढी कन्डमबारे सुनेको सहभागीले बताएका छन् । त्यसपछि क्रमशः डिपो र पिल्सबारे सुनेको उनीहरूले बताएका छन् । ९६ प्रतिशत सहभागीले कन्डमबारे जानकारी रहेको बताएका छन् । नयाँ पत्रिका

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: